‘टी प्लस टू’को सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई कारबाही गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले पूँजी बजार सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

नवनियुक्त अध्यक्ष हमालले सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पूँजीबजार सुधार र साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

सूचना प्रविधिको विकाससँगै लगानीकर्ताको गुनासो सुन्ने डिजिटल प्ल्यार्टफमको विकासका साथै बजारमा हुने इन्साइडर ट्रेडिङ कारोबार रोक्ने उनले बताए ।

उनले साना लगानीकर्ता ठगिने तथा समस्यामा पर्ने अवस्था आउन नदिने बताए । अध्यक्ष हमालले दुई दिनपछि (टी प्लस टू) को सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई कारबाही गर्ने बताए ।

‘लगानीकर्ताहरुको पैसा ब्रोकरले जानेर वा नजानेर कारोबार भएको टी प्लस टू) को सेटलमेन्ट नगर्ने, सो पैसा अन्तै लगानी गर्ने र अनेक बहाना बनाएर नदिने ब्रोकरहरुलाई कारबाही गरेर साना लगानीकर्ताको हितमा काम गछौँ,’ उनले भने ।

प्राथमिक र दोस्रो बजारमा हुने लगानीकर्ताको शुल्क लागतको विषमा पनि बोर्डले कमिटी बनाएर अध्ययन गरिरहेको हमालको भनाइ छ । ‘लगानीकर्ताको हितलाई ध्यानमा राखेर चाँडै प्रविधिको मोडल विकास गरी उनीहरुलाई राहत दिने योजना छ,’ उनले भने ।

एपीआइ र टीएस प्ल्यार्टफमलाई प्रविधिको विकाससँगै अपगे्रड गेरेर विश्वस्तरीय बनाउने उनले जानकारी दिए । हमालले इन्ट्रा डे कारोबार बजारले चाहेको विषय भएको भन्दै अध्ययन गरिरहेको बताए ।

‘मार्केटले यो कुरा चाहेको छ । बजारको लागि राम्रो पनि हो । तर, हाम्रो जस्तो कम विकसित देशमा प्रविधिको गलत प्रयोग नहोस् भन्ने हो,’ उनले भने, ‘टीम बनाएर हामीले अध्ययन गरिरहेका छौँ, असाध्यै सचेत छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here