प्रभावकारी भएन सरकारको ‘खोलौँ बैंक खाता’ अभियान

काठमाडौं, २४ असार । सरकारले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भइसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो पुग्न सकेको छैन ।

‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले वैशाख एक गतेदेखि शुरु गरेको यो अभियानलाई सरोकारवालाले बेवास्ता गर्दा ग्रामीण भेगका जनता यसबाट लाभान्वित हुन सकेको छैन ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत हरेक नेपालीमा बैंक खाता पु¥याउने कार्यक्रम ल्याएको थियो ।

सोहीअनुरुप सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई ‘खोलौँ बैंक खाता अभियान’ शुभारम्भ गरेको थियो ।

सरकारले प्रमाणित गरेको कुनै एउटा मात्रै प्रमाणपत्र भए खाता खोल्न सकिने राष्ट्रिय वाणिज्य बैंक बेनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई प्रेरित गर्न बैंकको सामाजिक उत्तदायित्वअन्तर्गत जम्मा भएको रकमबाट हरेक खातामा रु १०० जम्मा गर्ने जनाएको छ । यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यसअघि खाता नखोल्नेलाई मात्रै जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

मालिका गाउँपालिका–२ रुमकी विष्णु पुनलाई आजसम्म ‘खोलौँ बैंक खाता’ सम्बन्धी केही पनि जानकारी छैन ।

त्यसैगरी मङ्गला गाउँपालिका– ५ अर्मनका कृष्ण कडेल, धौलागिरि गाउँपालिका–३ मुनाका विजय पुन, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी तिलु फगामी, रघुगङ्गा गाउँपालिका– १ बेगका धनबहादुर फगामी र बेनी नगरपालिका–३ भकिम्लीकी शोभा विक लगायत ग्रामीण भेगका अधिकांशलाई यो अभियानको बारेमा जानकारी नपाएको बताएका छन् ।

यो कार्यक्रम जनतासम्म पु¥याउन नसक्दा प्रभावकारी नदेखिएको रघुगङ्गा गाउँपालिका–१ दोवाका वडाध्यक्ष विलबहादुर फगामीले बताए ।

उनले भने, ‘यो कार्यक्रम आफैँमा राम्रो छ, तर व्यापकरुपमा प्रचारप्रसार हुन जरुरी छ, त्यसका लागि गाउँमा क्याम्पेन नै राख्नुपर्छ ।’(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here