भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम, यी शर्त अनिवार्य

फाइल फोटो

काठमाडौं, २७ फागुन । सरकारले भिजिट भिसामा विदेश जाने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। नयाँ कार्यविधि नबन्दासम्म लागू हुने उक्त नियमबारे बिहीबार परिपत्र गरिएको छ।

भिजिट भिसाबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको सुझाव अनुसार कार्यविधि तयार भइरहेको भन्दै अन्तरिम व्यवस्थाका लागि परिपत्र भएको हो।

उक्त कार्यविधि तयार नहुँदासम्म परिपत्र लागू हुनेछ। जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिएर आवश्यक निर्णय गर्न सकिने पनि उल्लेख गरिएको छ ।

यस्तै अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाए पुग्ने भएको छ ।

यसअघि विदेश जाने नेपालीले कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने भनिएतापनि तत्काल उक्त व्यवस्था तत्काल लागू नहुने भएको हो ।

अध्यागमन विभागलाई लेखेको पत्रमा खाडी मुलुकभन्दा बाहिर जाँदा कम्तीमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्ति, न्यूनतमा माध्यमिक तहको शिक्षा वा सो सरहको प्राविधिक तथा व्यावसायिक सीप भई आधिकारिक निकायबाट प्रमाणित भएका वा उच्च शिक्षा हासिल भएका व्यक्तिको हकमा भिजिट भिसाका लागि आवश्यक व्यवस्था गर्न भनिएको छ ।

पत्रानुसार अङ्ग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको ज्ञान भएका र एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रणमा जाने एवं वैदेशिक रोजगारमा रहेकाका नातेदार, गन्तव्य मुलुकमा रहेको दूतावास वा नियोगबाट प्रमाणित कागजात भएका, सरकारी कामको सिलसिलामा विदेश जाने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि पनि भिजिट भिसाका लागि योग्य हुनेछन् ।

नेपालमा सामान आयात÷निर्यातमा संलग्न कम्पनीका सञ्चालक, व्यवसायी र तिनका एकाघरका सदस्य, कानूनबमोजिम स्थापित संस्थाको नेतृत्व गर्ने वा सोही प्रयोजनमा सदस्य वा कर्मचारीको समूह बनाई खाडी तथा मलेसिया भ्रमणमा जान विभागबाट पूर्वस्वीकृति भएका व्यक्ति, ट्राभल एजेन्सीको घोषित टुर प्याकेजमा आधारित भ्रमण सकिएपछि फर्काउने प्रतिबद्धता भएका (खाडी र मलेसियाका लागि अध्यागमन विभागको पूर्वस्वीकृति भएको) व्यक्ति पनि जान सक्नेछन् ।

यस्तै वार्षिक न्यूनतम रु पाँच लाख करयोग्य आय भएका र सोको आधा रकम बैंंक खातामा बचत भएका, औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध संस्थाका आधिकारिक प्रतिनिधि (कर्मचारी तथा एकाघरका सदस्य), वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनमा जाने व्यवसायी (सञ्चालक, प्रतिनिधि वा एकाघरका सदस्य), नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुुरुवा, रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्यका हकमा पनि आवश्यक व्यवस्था गर्न भनिएको छ ।

खाडी, मलेसिया, अफ्रिकी मुलुक र जोखिममा भएका मुलुकको भ्रमणमा जाने खेलाडी, कलाकारको हकमा आधिकारिक निमन्त्रण वा प्रायोजनपत्र प्राप्त गरेको हुनुपर्छ ।

बिरामी कुरुवा वा बिरामीको रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्य वा सो मापदण्डमा नपर्ने व्यक्तिको हकमा भने अध्यागमन विभागबाट स्वीकृति लिएर मात्रै भिसा वा हवाई टिकटको प्रक्रिया सुरु गर्ने गरी सूचित गर्न विभागलाई गृह मन्त्रालयले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here