रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

काठमाडौं, २७ फागुन । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांक अनुसार माघ महिनामा सम्ममा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५ खर्ब ४० अर्ब १२ करोड कायम भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,००,१०२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १,५२,३२५ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतलेघटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here