कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?

काठमाडौं, ३० फागुन । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्ला गरेको हो।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो।

शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ।

त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ।

९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ। २४ डलर परीक्षा शुल्क तोकिएको छ। आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।

कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ।

जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।

यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस कार्यालयले जनाएको छ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ।

यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here