‘जलवायु परिवर्तनले क्षति पुगेका प्रभावित राष्ट्रले उचित क्षतिपूर्ति पाउनुपर्छ’

काठमाडौं, ३० फागनु । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।

जलविद्युत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी सोमबार आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तन नेपालको लागि चुनौती बन्दै गएको दाबी गरिन् ।

उनले भनिन् -‘जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापनको लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ ।

‘जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका वस्तीहरूमा देखिएको छ । बाढी, पहिरोजस्ता प्रकोपहरूका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत आयोजनामा समेत निकै असर परेको छ।’

यस्ता विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गरिन् ।

जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन्।

उनले भनिन्, ‘पूर्वसूचना प्रणालीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास लिएकी छु। साथै, पूर्व सूचना प्रणाली स्थापना गर्ने कार्य अन्य जलविद्युत आयोजनाहरूले समेत अवलम्बन गरेको खण्डमा, सोबाट आयोजनाका साथै स्थानीय समूदायलगायत सबैलाई फाइदा पुग्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here