८१ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको ऋण, ७४ अर्ब १९ करोड लगानी

काठमाडौं, १ चैत । । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८१ हजार नाघेको छ ।

यो राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि पुस मसान्तसम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो ।

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि चालू आर्थिक वर्षको ६ महिनासम्ममा ८१ हजार २२७ जना महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब १९ करोड ४० लाख ४ हजार रुपैयाँ लगानी भएको छ ।

सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् ।

महिला उद्यमीलाई प्रदान गरिने कर्जामा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिन्छ  । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले ६ प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here