उपत्यकामा सुरक्षा व्यवस्था कडा, होलीका नाममा जथाभावी गरे तत्काल कारबाही

फाइलफोटो

काठमाडौं, ३ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक एकाइका प्रमुखलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई व्रिफिङसमेत गरेका छन् ।

बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ ।

उच्छि«ङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै इच्छाविपरीत कसैलाई फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गरिने चेतावनी दिएको हो।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न सचेत गराइएको छ। यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताएका छन्।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गरिएको छ। ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृत रूपमा मनाउन भक्तपुर जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here