सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

काठमाडौं, ४ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन्।

गत मंसीर १ गतेबाट सिँचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागिपरेको बताइन्।

शुक्रबारबाट काठमाडौंमा सुरू भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित बस्तुहरु आयात नगर्न पनि व्यवसायीलाई पटकपटक आग्रह गरिन्।

उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन्।

उद्योगीले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको बस्तुको उत्पादन र विक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाई थियो। मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याइन्।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु। हामी धेरै कुरा गर्छौ। धेरै कुरा माग्छौं। तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ। हाम्रो देश भित्र हुने कुरा चाँही आयात नगरौं’, उनले भनिन्, ‘अहिले साँढे २ खर्वको वार्षिक रूपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ। त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं। त्यसैका लागि आफूले मंसीर १ गतेबाट सिँचाईमा खपतमा हुने विद्युतको मूल्य ५० प्रतिशत घटाएको छु। मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउनेछ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको माग अनुसार हस्तकला सामग्रीहरुको विक्रीवितरण गर्न उद्योगीहरुलाई आग्रह गरे। उनले हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे।

उनले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरू पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरूलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here