‘जसरी हुन्छ जनताको लगानीमा नै ठूला आयोजना अघि बढाइन्छ’-कुलमान घिसिङ

काठमाडौं, ५ चैत । रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् ।

धनुषाको ढल्केवरस्थित सबस्टेशनपछिको ठूलो यो सबस्टेशन २२०/१३२ केभी क्षमताको हो । नयाँ खिम्ती सबस्टेशन देशको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।

यो सबस्टेशनबाट करिब एक हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । २०७५ सालदेखि निर्माण सुरु भएको यो सबस्टेशनको निर्माण गत असारमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।

उक्त कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूलाठूला परियोजना अगाडि बढाउने तयारीमा प्राधिकरण रहेको बताए। उनले त्यस्ता आयोजनामा स्थानीयवासीको व्यापक सहभागिता गराइने विश्वास दिलाए।

उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’ को सङ्ज्ञा दिँदै प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण योगदान गरेको बताए।

विसं २०७२ को ‘गोरखा भूकम्प’, आयोजनाको डिजाइनमा भएको परिवर्तन, प्राकृतिक विपत्ति र सीमामा भएको अवरोध लगायतका कारणले आयोजना निर्माण सम्पन्न हुन ढिलाइ भएको र लागतसमेत बढ्न गएको उनको भनाइ थियो ।

सुरुआती चरणमा ब्याजबाहेक रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदासम्म रु ८२ अर्ब पुगेको छ ।

प्राकृतिक विपत्तिका कारण समस्यामा पर्दा आयोजनामा ढिलाइ भएको विषयलाई अन्यथा लिन नहुने उनको भनाइ थियो । उहाँले परियोजनाले कमाउन थालेको भन्दै संलग्न सबैलाई धन्यवादसमेत दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here