बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं, ८ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सो अवधिमा सबै शेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here