काठमाडौं, ८ चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
माघ मसान्तसम्म २ अर्ब ४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको १४६.८५ प्रतिशत हो ।
आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म १ अर्ब ६४ करोड लक्ष्य लिएकामा २ अर्ब ४ करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए ।
सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ ।
विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए ।
नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।रासस