रातमाटे सब स्टेसनका लागि अधिग्रहण गरेको जग्गा खाली गर्न ३५ दिने सूचना

काठमाडौं, ८ चैत । एमसीसी परियोजनाअन्तर्गत सब-स्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी भएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको हो ।

सूचना निकालेर एमसीसी नेपालले अधिग्रहण गरिएका जग्गामा सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सबस्टेसन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

४०० केभी रातमाटे सबस्टेसनका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भैसकेको छ ।

एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको सूचनामा भनिएको छ ।

विद्युत् प्रशारण आयोजनाअन्तर्गत तीन वटा नयाँ सबस्टेसन निर्माण हुनेछन् । नुवाकोटमा रातमाटे सबस्टेन, तनहुँमा दमौली सबस्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ ।

काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका हालका सबस्टेसन पनि जोडिनेछन् ।

१० जिल्ला काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर प्रसारणलाइन जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here