दुई दिनमै ग्रीन भेन्चर्सको आइपीओ भर्नेको संख्या १० लाख नाघ्यो

काठमाडौं, ९ चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार साँझ ५ बजेसम्ममा १० लाख ७१ हजार ५५२ जना आवेदकहरुले १ करोड ३३ लाख ९ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।