स्पष्टीकरण दिन आएनन् कालोसूचीमा सिफारिस भएका व्यवसायी, ७ दिन भित्र नदिए कालोसूचीमा राखिने

काठमाडौं, १० चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण मागेको छ।

विभिन्न सार्वजनिक निकायहरूको काम सम्झौता अनुसार नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएपछि ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्रमा स्पष्टीकरण दिन सूचना जारी गरेको हो ।

समयमा काम नगर्ने र लापरबाही गरेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्न विभिन्न आयोजना तथा सार्वजनिक निकायहरुले सिफारिस गरेका थिए।

यसअघि एक महिनाभित्र स्पष्टीकरण दिनु भनिएपनि ती कम्पनीहरू स्पष्टीकरणका लागि नआएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा रहेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी कामकारबाहीका सहभागी हुन नपाउनेगरी निश्चित समयका लागि कालोसूचीमा राख्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here