शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

काठमाडौं, १० चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक पनि १.९८ प्रतिशतले नै घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले बढेको छ ।

राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६०.७० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावर ७.५३, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.५९, ज्योति लाइफ ५.२६, एनआइबीएल समृद्धि फण्ड (२) ४.८६, सानिमा लाइफ ४.८०, गुराँस लाइफ, नेपाल इन्स्योरेन्स, स्वरोजगार लघुवित्त र प्रभु लाइफको शेयर मूल्य साढे ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्त शेयर किनबेच भएको छ । यस कम्पनीको ३० करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल टेलिकमको कारोबार भएको छ । यसको २३ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here