कतिले भरे ग्रीन भेन्चर्सको आइपीओ ? आवेदन दिनेको संख्या घट्यो

काठमाडौं, ११ चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा माग भन्दा ९ गुणाबढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ६ बजेसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ९.०२ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुन सक्नेछ । आवेदन दिनेको संख्या भने घटेको छ । यसअघि खुलेको आइपीओमा २५ लाख भन्दा धेरैको आवेदन पर्ने गरेको थियो ।

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधरणको लागि दिएको थियो ।

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here