नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

काठमाडाैं, २५ असार । कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ ।

नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि उपभोक्ताले सिँचाइ सुविधा पाउने देखिएको हो । यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटकपटक भत्किने गरेका कारण उपभोक्ता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।

कैलालीको पश्चिमी क्षेत्र बाँद्रेखालस्थित मछेली नदी मुहान भएको यो आयोजनामा ‘आरसिसी वेयर’ प्रकारको नयाँ पक्की बाँध रु २७ करोडको लागतमा निर्माण गरिएकाले कैलाली र कञ्चनपुरको तीन हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्न लागेको सिँचाइ डिभिजन कार्यालयका प्रमुख अमर पालले जानकारी दिए ।

बाँध निर्माणस्थल नजिक ४५० मिटरको मूल पक्की नहर निर्माण गरिएको छ । यसैगरी कञ्चनपुरतर्फ जाने नहरमध्ये ४५ मिटर नहरको भाग पक्की बनाइएको छ । एक पुलसहित पानी वितरण गर्न संरचना पनि निर्माण गरिएको छ ।

सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्र बडेलाले नयाँ बाँध निर्माणपछि गर्मीयामका दुई महीनाबाहेक अरु सबै महीना सिँचाइ पुग्ने देखिएको बताए । ‘वैशाख र जेठ महीनामा नदीमा पानीको स्रोत कम हुने हँुदा सबैलाई सिँचाइ सुविधा पु¥याउन समस्या हुने देखिन्छ,’ बडेलाले भने, ‘पानी वितरणको पुरानो शैली परिवर्तन गरेर सबैलाई सिँचाइ पु¥याउने योजना बनाउन लागिएको छ ।’

विसं २०३७ मा निर्माण शुरु भई २०४४ मा सम्पन्न भएको यो आयोजनाको निर्माणमा त्यतिबेलाको झण्डै रु १२ करोड निर्माण लागत रहेको थियो । आयोजनाअन्तर्गत निर्माण भएको मूल नहर झण्डै दुई किलोमिटर लामो रहेकामा मूल नहरबाट कैलालीतर्फ र कञ्चनपुरतर्फ गरी झण्डै १९ किलोमिटर लामो शाखा नहर निर्माण गरिएको थियो तर नदीमा पानीको पर्याप्त स्रोत नहुँदा र पटकपटक बाँध भत्किने समस्याका कारण नहरमा पानी नबग्ने समस्या रहेको थियो ।

उक्त सिँचाइ आयोजनाबाट यसअघि लक्षित सबै सुमदायले सिँचाइको सुविधा पाउन नसकेको भए पनि वर्षेनी आयोजनाको निर्माण मर्मत शीर्षकमा राज्यको करोडौँ रकम आउने गरेको थियो ।

भौगोलिक अध्ययन र पानीको बेगलाई नबुझेर डिजाइन र इष्टिमेट गरी यसअघिका बाँध निर्माण गरिएकाले ती बाँध वर्षाको भेलले भत्काउने गरेको स्थानीयको बुझाइ छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here