उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डायरी र कलम बोक्नुपर्ने

काठमाडौं, १८ चैत । काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायि अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।

यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले एक कार्यक्रमका वीच काठमाडौँ उपत्यकामा कार्यरत झन्डै १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन्।

ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए।

डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए।

सोही कार्यक्रममा आजदेखि डिउटीका समयमा सम्पूर्ण ट्राफिक प्रहरीले अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने निर्देशनसमेत दिएका छन्।

कार्यक्रममा महाशाखामा कार्यरत ट्राफिक प्रहरी अधिकृतहरू तथा मातहतका सम्पूर्ण ईन्चार्जहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here