टिकटक प्रयोगकर्ता भड्काउन फेसबुकले चाल्यो यस्तो कदम

काठमाडौं । विगत २ वर्ष यता टिकटकको लोभलाग्दो लोकप्रियताको दर्शक हामीसँगै विश्वका ठूला टेक कम्पनीहरु पनि बनेका छन् ।

टिकटकको लोकप्रियताले प्रतिस्पर्धी कम्पनीको लोकप्रियता नै कम गरिदिएको छ । विशेषगरी टिकटकको उदयपछि सबैभन्दा बढी नोक्सानी बेहोर्ने कम्पनी फेसबुक बनेको छ ।

फेसबुकले टिकटकको चर्चाका कारण दैनिक ५ लाख भन्दा बढी प्रयोगकर्ता गुमाएको तथ्यांक समेत सार्वजनिक भइसेको छ ।

यसैक्रममा फेसबुकको मूख्य कम्पनी मेटाले टिकटकलाई पछि पार्न तथा टिकटक विरुद्ध प्रयोगकर्तालाई भड्काउन विशेष अभियान नै चालेको पाइएको छ ।

फेसबुकले देशको सबैभन्दा ठूलो रिपब्लिकन सल्लाहकार फर्महरुमध्ये एकलाई सो टिकटक विरुद्ध भड्काउने अभियानका लागि भुक्तानी गरेको पाइएको द वासिङन पोष्टले खुलासा गरेको हो ।

सो अभियान अन्तर्गत प्रमुख क्षेत्रीय समाचार आउटलेटहरुमा सम्पादकलाई ओपएड र पत्रहरु राख्ने, टिकटकका कथित प्रवृत्तिका बारेमा शंकास्पद कथाहरु प्रवद्र्धन गर्ने गरेको छ ।

त्यस्तै यसको सबैभन्दा ठूलो प्रतिस्पर्धीलाई हटाउन खोज्ने तथा राजनितिक रिपोर्टर र स्थानीय राजनीतिज्ञलाई आकर्षित गर्न जोड दिने गरेको हो ।

टारगेट भिक्ट्री नामक फर्मका कर्मचारीहरुले बेइजिङस्थित कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको द्रुत बृद्धि भएको एपलाई अमेरिकी बालबालिका र समाजका लागि खतराको रुपमा चित्रण गर्दै राष्ट्रव्यापी मिडिया र लबिङ अभियानमार्फत टिकटकलाई कमजोर पार्ने काम गरेका थिए ।

टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म भएको छ। टिकटक सन् २०१८ मा चिनियाँ सामाजिक सञ्जाल म्युजिकल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो।

म्युजिकल्ली पनि विशेषगरी छोटा भिडियोमा गीतहरुको लिप–सिङ्किङ् गर्ने एप थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here