काठमाडौं, १९ चैत । नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।
समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।
त्यस्तै देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।
‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।