निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं, २० चैत । पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीबीच निगमको केन्द्रीय कार्यालय टेकुमा भएको वार्तामा १५ दिनभित्र माग सम्बोधन गर्ने सहमति भएको हो।

विभिन्न माग राख्दै उनीहरुले एक सातादेखि आन्दोलन थालेका थिए।

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आजै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here