काठमाडौं २६, असार । गत जेठसम्म ५ सय ३५ महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अन्तर गत जेठसम्म करिब साढे ५ सय महिलाले सहुलियत दरको कर्जा पाएका हुन ।
सहुलियतपूर्ण कर्जाका लागि सरकारले ल्याएका सात प्रकारका ब्याज अनुदानसम्बन्धी कार्यक्रममध्ये महिला उद्यमशील कर्जा अरूभन्दा धेरै प्रभावकारी देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठसम्म कुल ५ सय ३५ महिला उद्यमीको नाममा कुल ३७ करोड २३ लाख रुपैयाँ बराबर ऋण स्वीकृत भएको छ । गत वैशाखसम्म यो शिर्षकमा १९ करोड ७१ लख २७ हजार रुपैयाँ बराबर ऋण स्वीकृत भएको छ । जसमध्ये जेठसम्म ३२ करोड ४९ लाख रुपैयाँ लगानी भइसकेको छ । गत वैशाखसम्म १७ करोड रुपैयाँ लगानी भएको थियो ।
यो कार्यक्रमअन्तर्गत महिलाहरूले १५ लाख रुपैयाँसम्म सहुलियत दरको ऋण पाउने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउन यसअघि सञ्चालनमा रहेका उद्योग व्यवसायले पनि महिलाको नाममा ऋण लिने बढेको बैंकरहरू बताउँछन ।
राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा गरी सात किसिमको कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था ल्याएको थियो ।
तीमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ब्याज अनुदानको व्यवस्था ०७३ मै आएको हो । सरकारले उक्त कर्जालाई पनि एकै ठाउँमा समेटेर सातवटा बनाएको हो । यसकारण व्यावसायिक कृषिबाहेकको कर्जा मात्र नयाँ कार्यक्रम हुन ।