बुद्धले भद्रपुर-पोखरा दैनिक उडान गर्ने, आकर्षक होलिडे प्याकेजसहित भाडादर सार्वजनिक

काठमाडौं, २० चैत । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान गर्ने भएको छ ।

उडान तालिका सार्वजनिक गर्दै आइतवार कम्पनीले यस रुटका लागि शुरूवाती भाडादर रु. ६,९०० कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुनेछ।


यस उडानबाट दुबै प्रदेशका वासिन्दासँगै सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘सिमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन्। भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज पनि ल्याएको छ।

भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रूपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ।

बुद्ध एयर काठमाडौंबाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ। यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here