लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, कार चालक फरार

काठमाडाैं, २६ असार । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

घाइते घर्तीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि भेनस अस्पताल मध्यबानेश्वर पठाइएको र उक्त स्थानमा पनि उपचार हुन नसकेपछि हाल दीर्घायु अस्पताल चाबहिलमा उपचार भइरहेको राठौरले बताए ।

दुर्घटना गरेर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here