तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा

काठमाडौं, २१ चैत । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ ।

गोलाप्रथाबाट पेशी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन्।

रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

त्यसपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

वरीयता क्रममा पन्त तेस्रो, सिंह छैटौं र धानुक आठौं स्थानमा थिए । वरीयता क्रममा आफुभन्दा पछि रहेकालाई एआईजीमा बढुवा गरेको भन्दै उनीहरू अदालत पुगेका हुन् ।

तर रिटको सुनुवाइ ढिला भइरहँदा उनीहरुको अवकाश हुने दिन नजिकिँदै गएको छ। तीनै डीआईजी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदै छन्।

एआईजीबाटै सरकारले एक जनालाई प्रहरी महानिरीक्षक नियुक्त गर्छ । त्यसका लागि चार जना दाबेदार मानिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here