कालिमाटीमा तरकारी नष्ट गर्दैमा सबै तरकारीमा विषादिको समस्या समाधान हुँदैन

काठमाडौं, २६ असार । अहिले कालिमाटी तरकारी बजारमा भएको मेसिनमा बजारमा आइपुगेका तरकारीको विषादि जाँच गर्दै विषादियुक्त तरकारी नष्ट गर्ने काम भईरहेको छ ।

तर, यसरी कालिमाटी तरकारी बजार आइपुगेका तरकारी नष्ट गर्दैमा मात्रै तरकारीमा विषादिको समस्या समाधान नहुने सरोकारवालाहरु बताउँछन् ।

गत, असार ८ गतेदेखि भारतबाट आउने तरकारी र फलफूलमा अत्यधिक विषादि मिसिएको हुने भन्दै सरकारले तरकारी तथा फलफूलमा भएको विषादि जाँच गर्न सुरु गरेको थियो ।

सरकारले परिक्षण गर्न थालेपछि तरकारी ५ दिनसम्म भन्सारमा रोकिएका थिए । यसले भारतीय किसानहरुलाई मार परेको भन्दै भारतीय दूतावासले एक पत्र पठाएर यस्तो व्यवस्था हटाउन माग गरेको थियो ।

उक्त पत्रकै कारण सरकार आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ ।

नाकामा परिक्षणको राम्रो पूर्वाधार नभएकाले पूर्वाधार निर्माण गरेर मात्रै विषादि परिक्षण सुरु गर्ने भन्दै गत साताबाट परिक्षण रोकिएपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

भारतको दवावमा विषादि परिक्षण रोकिएको आरोप सरकारमाथि छ । त्यस्तै सर्वोच्च अदालतले समेत बुधवार विषादि परिक्षण तत्कालको लागि रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले पूर्वाधार पर्याप्त नभएको भनेपनि सबैजसो भन्सार नाकाहरु विषादि जाँच गर्ने मेसिनहरु राखिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना दाबी गर्छन् ।

तिमल्सिनाका अनुसार काठमाडौंको कालिमाटी, पोखरा, विराटनगर, विरगञ्ज, भन्सार कार्यालयहरुमा विषादि चेकजाँच गर्ने क्षमता भएका मेसिनहरु छन् ।

‘ती मेसिनको प्रभावकारी सदुपयोग नै भएको छैन्,’ उनले भने ‘भन्सारमा भएका मेसिनहरुले मात्रै प्रभावकारी रुपमा जाँच गरेमा ८५ प्रतिशत विषादियुक्त तरकारी नेपाल भित्रन पाउँदैन् ।’

उपभोक्ताहरु पैसा खर्च गरेर पनि विष किन्न बाध्य भएको तिमल्सिना बताउँछन् ।

#विषादियुक्त तरकारीको सेवनबाट हुने स्वास्थ्य समस्या

चिकित्सकहरुले समेत विषादियुक्त तरकारीको सेवनले हामीलाई विभिन्न स्वास्थ्य समस्याहरु हुने बताउँदै आएका छन् ।

विषादियुक्त तरकारीको बिक्रिवितरण रोक्नुपर्नेमा सरकार आफैले सुरु गरेको विषादि परिक्षण रोकिनु गलत गरेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकका अनुसार विषादिको मिसावट भएका तरकारीबाट एकदुई मात्रै नभई धेरै प्रकारका रोगहरु लाग्छन् ।

सबैभन्दा पहिले त यस्ता तरकारीहरु खाएमा क्यान्सर जस्तो प्राण घातक रोग लाग्ने गर्छ ।

यसका साथै, गर्भवती महिलाहरुले यस्ता विषादियुक्त तरकारीहरु खाएमा त्यसको कारण पेटमा भएको बच्चा नै खेर जाने सम्मको समस्या देखिन सक्छ ।

आँखा कमजोर हुने, उचाई नबढ्ने, झाडापखाला लाग्ने जस्ता समस्याहरु विषादियुक्त तरकारीबाट हुने गर्छ ।

#मौलिक हकको हनन्

नागरिकहरुले पैसा तिरेर किनेको तरकारी तथा फलफूलमा स्वास्थ्यमा गम्भिर हानी गर्ने विषादि हुन् नागरिकको मौलिक अधिकारको हनन् भएको तिमल्सिना बताउँछन् ।

नेपालको संविधानमा धारा ४४ को मौलिक हकले नै नागरिकले गुणस्तरीय सामान उपभोग गर्न पाउनुपर्ने बताएको छ ।

नेपालमा वि.सं. २०४८ सालबाट नै उपभोक्ता संरक्षण ऐन बनेको भएपनि हालसम्म पनि उपभोक्ता संरक्षणको लागि सरकारले कुनैपनि प्रभावकारी काम गर्न नसकेको आरोप उपभोक्ता अधिकारवादी लगाउँछन् ।

‘यस विषयमा सरकार गम्भिर नै छैन् । सरकारलाई यो कुरा सामान्य हो जस्तो लागेको होला तर, यो कुरा निकै खतरनाक हो’ अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘न कुनै प्रभावकारी अनुसन्धान भएको छ न त कुनै प्रयास न भएको छ यो राम्रो संकेत होईन् ।’

तिमल्सिनाका अनुसार विषादियुक्त तरकारीको बोक्रा खाएको कारण केही समय अगाडी धादिङ्गका धेरै गाइवस्तु विरामी पनि भएका थिए ।

‘धादिङ्ग, नुवाकोट जस्ता जिल्लाहरुमा केही समय अगाडी यस्ता तरकारीको बा्क्रा खाएको कारण धेरै घरपालुवा जनावर समेत विरामी भएका थिए’ उनले भने ‘विषादिले कसैलाई फाईदा गदैन् यो किसानले बुझ्न जरुरी छ ।’

त्यस्तै अन्तराष्ट्रिय बजारबाट आएका सबै प्रकारका तरकारीहरुको भन्सारमा नै उत्पादन प्रमाणपत्र चेकजाँच बिना प्रवेश गर्न नदिने व्यवस्था गरिएमा पनि धेरै हदसम्म यस्तो समस्या हल हुने उनी बताउँछन् ।

‘प्रमाणपत्र जाँच पनि विषादियुक्त तरकारी नियन्त्रण गर्ने एक प्रभावकारी उपाय हो, साथै भन्सार कार्यालयहरुमा भएका मेसिनहरु प्रयोग गर्ने र मेसिन नभएका भन्सारमा नयाँ मेसिन जडान गरिनुपर्छ ।’

त्यस्तै विषादि रहित तरकारी उत्पादनको लागि सबैभन्दा पहिले स्वदेशी किसानहरुलाई पनि जागरुक बनाउनु पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here