बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा ध्यान दिनुस्

संकेतिक तस्विर

काठमाडौं । निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।

कसैलाई कर्पोरेट क्षोत्रमा जागिर खाने रहर होला त कसैलाई बैकिङमा । हामी बैकिङ क्षेत्रमा करियर कसरी सुरु गर्न सकिन्छ । त्यसका लागि कस्तो तयारी चाहिन्छ ? राम्रा र नराम्रा पक्ष के हुन ? भन्ने बारेमा तपाईंलाई जानकारी दिदैछौं ।

बाहिरबाट हेर्दा बैंकको जागिर सुखी र आकर्षक मानिन्छ । सफा चिटिक्क परेका पोसाक लगाएर कार्यालय जानुपर्ने । सजाइएको स्टयाण्डर्ड कार्यालयमा बसेर काम गर्न पाइने, समयप्रति इमान्दार हुनुपर्ने, प्रायः कार्यालय भित्रै बसेर काम गर्नुपर्ने, बाहिर भिडभाड, धुलो, हावा पानीमा भिज्नु नपर्नेलगायत कारण बैकिङ करियर आकर्षक छ ।

अर्को महत्वपूर्ण पक्ष आकर्षक पैसा (तलब) हो । अपवाद बाहेक नेपालमा बैकका कर्मचारीले तुलनात्मक रुपमा राम्रो तलब सुविधा पाउँछन् । यस्तै, अन्य आर्थिक सुविधाहरु पनि प्रसस्त छन् ।

नेपालमा स्वामित्वका हिसाबले सरकारी र निजी बैंक गरी तीन प्रकारका बैंक छन् । यी तिनै तहका बैंकमा तपाईंले करियर सुरु गर्न सक्नु हुन्छ ।

हालको व्यवस्था अनुसार राष्ट्र बैंक र अन्य सरकारी बैंकमा जागिर खानका लागि लोकसेवा पास गर्नुपर्छ । यसको अर्थ निजी बैंकहरुमा परिक्षा पास गर्नु पर्दैन भन्ने होइन ।

ती बैंकमा पनि कर्मचारी छनौटको आफ्नै विधि र प्रक्रिया (लिखित, अन्तरवार्ता, सामुहिक अन्तरक्रिया आदि) मा उत्तिर्ण हुनैपर्छ । केही बैंकले प्रारम्भिक चरणको छनौट आउट सोर्सिङ मार्फत पनि गरेका हुन्छन ।

कुन विषय पढ्नुपर्छ ?

बैंकमा जागिर खानाका लागि व्यवस्थापन ९बीबीए, एमबीए, बीएचएम, अर्थशास्त्र आदि० विषय अध्ययन गरेको हुनुपर्छ । त्यसो त बैंकमा कानून, आमसञ्चारलगायत विषय अध्ययन गरेका व्यक्तिले पनि काम पाउन सक्छन् ।

तर, कोर बैकिङ सिष्टमकालागि व्यवस्थापन विषय नै चाहिन्छ । शैक्षिक अध्ययनसँगै बैंक तथा वित्तीय संस्था, अर्थतन्त्र लगायत क्षेत्रको बारेमा पनि जानकारी भएको हुनुपर्छ । काम गर्ने चाहनासँगै, सामुहिक रुपमा काम गर्ने भावना, इमान्दारिता र मेहनत गर्ने क्षमता पनि अपरिहार्य हुन्छ ।

आवेदन कहाँ हुन्छ ?

बैंक तथा वित्तीय संस्थाले समय समयमा आवेदन आब्ह्रान गरेका हुन्छन । यस्तो सूचना राष्ट्रिय स्तरका पत्रपत्रिका तथा सम्बन्धीत बैंकको वेवसाइटमा पनि राखिएको हुन्छ ।

तयारी कसरी गर्ने ?

मुख्य तयारी तपाईंले अध्ययनकै क्रममा गरिसक्नु भएको हुन्छ । जागीरकालागि परिक्षाको तयारी गर्दा त्यसलाई रिभाइज गर्ने मात्र हो । बैकिङ क्षेत्रको तयारीकालागि बजारमा धेरै प्रकारका पुस्तक पनि उपलब्ध छन् ।

निजी बैंकमा प्रवेशका लागि सीम्याट लगायत पुस्तकहरु पनि उपयोगी हुन्छन । त्यसो त बैंकिङ तयारीकालागि ट्यूसन कक्षा पनि बजारमा सञ्चालन भएका हुन्छन् । ती कक्षा पढेर पनि तयारी गर्न सकिन्छ ।

अनुभव

बैंक तथा वित्तीय संस्थाले खुलाएको भ्याकेन्सीमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिईनेछ भन्ने कुरा प्रायः समेटिएको हुन्छ । जसमा प्रायःको प्रश्न हुन्छ ‘अनुभव कहाँबाट ल्याउने ? ’ तर, बैंकका लागि यो सजिलो छ ।

किनकी बैंक तथा वित्तीय संस्थाले समय समयमा ‘इन्टर्नसिप’ का लागि पनि विज्ञापन गरेका हुन्छन । कतिपय कजेजहरुले बैंकहरुसँग सम्झौता नै गरेर अध्ययनपछि इन्टर्नसिपको व्यवस्था गरेका हुन्छन ।

बैंकहरुले अनुभव नभएकालाई पनि सहायक पदमा नियुक्त गरेका पनि हुन्छन् । सुरुमा ती पदहरुमा काम गरेर पनि अनुभव प्राप्त गर्न सकिन्छ । यसका अलवा यस विषयमा तालिम लिएर पनि अनुभव प्राप्त गर्न सकिन्छ ।

बैंकिङ क्षेत्रको ज्ञान

बैंकमा जागीर खाने योजना बनाएका व्यक्तिले मुलुकको बैंकिङ प्रणाली कस्तो छ, के कस्ता प्रविधि भित्रिएका छन्, कस्तो कानुन र नियमअनुसार बैंक संचालन भइरहेका छन् लगायत विषयमा पनि राम्रोसँग अध्ययन गर्नुपर्छ । यस्तो ज्ञानले तपाईको जागीर पाउने सम्भावनालाई अझै बढाउछ ।

नियामक निकायबारे जानकारी

बैंकमा जागीर गर्नको लागि तयारी गरिरहेका मानिसले बैंकको नियामक निकायसम्बन्धी सम्पुर्ण ज्ञान लिनुपर्छ । नेपालका बैंक तथा वित्तीय संस्थाको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति जारी गर्छ । यसरी नियामक निकायका हरेक गतिविधि, काम कारवाही लगायतका विषयमा पनि जानकारी हुनुपर्छ ।

यसका अलवा निक्षेप संकलन, कर्जा प्रवाह, प्रविधिको प्रयोग, मर्जर तथा एक्विजिसन, चुक्तापुँजी लगायतका विषयमा केन्द्रीय बैंकका मापदण्ड बारेमा पनि जानकार हुनुपर्छ ।

आधुनिक विद्युतीय प्रणाली, मोबाइल बैकिङ, आटीजीएस, क्युआर कोडलगायत विद्युतीय भुक्तानीबारे पनि जानकारी लिनु राम्रो हुन्छ । यी सम्पुर्ण विषयको ज्ञान राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको वेवसाइटबाटै प्राप्त गर्न सकिन्छ ।

आवेदन दिने बैंकको बारेमा पूर्ण जानकारी

तपाईंले कुन बैंकमा आवेदन दिन चाहेको हो । सो बारे सकेसम्म धेरै जानकारी लिनुपर्छ । यसकालागि उक्त बैंकको बारेमा अध्ययन गर्नुपर्छ ।

सम्पूर्ण कुरा सम्भव नभएपनि बैंकको स्थापनाकालदेखि हालसम्म भएका मुख्य मूख्य घटनाक्रम, प्रमुख वित्तीय सूचक उच्च व्यवस्थापन, सञ्चालक समितिलगायत बारे जानकार हुनुपर्छ ।

यी जानकारी सम्बन्धीत बैंकको वेवसाइटमा नै उपलब्ध हुन्छन् । बैंकको बारेमा पछिल्लो समय प्रकाशन भईरहेको समाचारमा ध्यान दिनुपर्छ । यसबाट पनि धेरै जानकारी प्राप्त गर्न सकिन्छ ।

आवेदन दिने पद र कामको जानकारी

आवेदन दिने बैंकको छनोट गरेसंगै आवेदन दिने पदको पनि छनोट गर्नुपर्छ । आफूले कुन पदको लागि आवेदन दिँदै छु भन्ने कुराको जानकारी प्राप्त भएसंगै उक्त पदको लागि आवश्यक पर्ने सबै प्रकारका जानकारी प्राप्त गर्नुपर्छ । उल्लेखित विषयको जानकारीले तपाईंलाई आवेदन दिएको पदमा योग्य बनाउनको लागि सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here