साउनदेखि हिमालय एअरलाइन्स ढाका उड्ने, सातामा ३ उडान

काठमाडौं, २६ असार । हिमालय एअरलाइन्सले काठमाडौं—ढाका—काठमाडौंको सीधा उडान सुरु गर्ने भएको छ ।

यही साउन ६ गते देखि उडानको सुरुवात गर्ने कम्पनीले जनाएको हो । १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने कम्पनीले बताएको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि कम्पनीले नया उडान तालिका सार्वजनिक गरेको छ ।

नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार भएको कारण त्यसलाई लक्षित गरेर बांगलादेशी पर्यटकलाई नेपाल भित्र्याउनु मुख्य प्राथमिकता दिने कम्पनीले बताएको छ । साथै नेपाली विध्यार्थीहरुपनि धेरै संख्यामा बङ्गलादेशमा भएको कारण उनीहरु पनि लाभान्बित हुने कम्पनीले जनाएको छ ।

एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा काठमाडौं ढाका काठमाडौं उडान भर्ने छ । सोमवार, बुधवार र शनिवार विमानले ढाकाको लागि उडान भर्ने कम्पनीले जनाएको छ ।

काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडेको विमान स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

त्यसैगरी, ढाकाबाट स्थानीय समय २ः१० मा उडान भरेको विमान त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ ।

दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुने एअरलाइन्स्ले बताएको छ । सन् २०१४ मा नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको एयरलाइन्ससँग तीनवटा न्यारोबडी जहाज छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here