पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाको सम्भावना,तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मंगलबार पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस छ । यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ ।

तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।

बैशाख ०५ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बैशाख ०६ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

बैशाख ०७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।