काठमाडौं, ५ वैशाख । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । धेरै गुमाउने फाइनान्स र निर्जीवन बीमा समूहका लगानीकर्ता रहेका छन् यी दुवैको शेयर मूल्य ३.४४ र ३.९ प्रतिशत घटेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नविल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।
दोस्रोमा हिमालय डिस्ट्रीलरीको ४ करोड ९२ लाखको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाखको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै, हिमालयन ऊर्जा ७.५७, इमर्जिङ नेपाल ७.१०, ग्रीन लाइफ हाइड्रोपावर ६.०७, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी, हिमालयन पावर, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।