कालिमाटी पुगेर कृषिमन्त्रीले भनेः भुटानमा तरकारी बजार पाँचतारे होटलजस्तो रहेछ

काठमाडौं, २७ असार । कृषिमन्त्री चक्रपाणी खनालले शुक्रबार बिहान कालिमाटी तरकारी बजारको निरिक्षण गरेका छन् ।

कालिमाटी स्थित विषादि परीक्षण प्रयोगशालाको निरिक्षण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै हालैको एक भ्रमणमा भुटानको तरकारी बजार देखेर आफू अचम्मित भएको बताए ।

उनले भने, ‘भुटानमा तरकारी बजार पाँचतारे होटलजस्तो सफा रहेछन्, हाम्रो पनि त्यस्तै सफा बनाउनुपर्छ ।’

विषादि परीक्षण गर्ने कार्य किन रोकिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नरोकिएको जवाफ दिए ।

‘विषादि परीक्षण चेकजाँच नियमित चल्छ, शंका लागेमा सँधै चेकजाँच हुन्छ र भारतबाट आएका मात्रै नभई विश्वका जुनसुकै कुनाबाट आएका तरकारी र खाद्यवस्तु पनि परीक्षण हुन्छ’ उनले भने ।

विषादिको विषयमा भ्रम सिर्जना गरिएको बताउँदै उनले भने कुन उत्पादनमा कति मात्रामा विषादि छ भनेर सबै परीक्षण गर्न कम्तीमा अढाई दिन लाग्ने पनि बताए । सीमा नाकामा सबै परीक्षण गर्न अहिले नै सम्भव नभएको पनि उनले प्रष्ट पारे ।

साथै उनले फिटो प्रमाणपत्र नभएका तरकारी तथा अन्य उत्पादनहरु कुनै हालतमा पनि परीक्षण नगरी नेपाल भित्रन नदिने बताए ।

‘यस विषयमा सत्यतथ्य के हो र कुन स्थानबाट आएको तरकारीहरुमा धेरै मात्रामा विषादीको मिसावट छ भन्ने कुराको बारेमा जानकारी प्राप्त गरेर मात्र बहस गर्नु हाम्रो हुन्छ’ उनले भने, तर हाम्रोमा हल्ला बढी भएको छ ।

विषादि परिक्षण प्रयोगशालाको निरीक्षण गर्दै काठमाडौंमा बिक्री वितरण हुने तरकारीहरुमा के कति मात्रामा विषादि मिसिएका छन् त्यसबारेमा विस्तृत रिपोर्ट तीन दिन भित्र बुझाउन पनि निर्देशन दिए ।

नेपालमा हाल २१ वटा विषादि पूर्णरुपमा प्रतिबन्ध गरिएको र १६९ प्रकारका विषादि भने सिमित मात्रामा प्रयोग गर्न पाइने पनि उनले जानकारी दिए ।

त्यस्तै प्रदेश नम्बर १, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा विषादि र रासायनिक मलको प्रयोग कम गरी अर्गानिक खेती गर्नको लागि ५२ करोड बजेट विनीयोजन गरिएको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here