होटल संघ र ट्रेड युनियनबीच ५ बुँदे सहमति, बढेको पारिश्रमिक लागू गर्ने

काठमाडौं, ६ वैशाख । होटेल संघ नेपाल (हान) र होटल क्षेत्रमा क्रियाशील केन्द्रीय ट्रेड युनियनबीच ५ बुँदे सामूहिक सहमति भएको छ ।

विगतमा गरिएका सम्झौताको समाप्त भइसकेको हुँदा नयाँ सम्झौता भएको होटल संघले जनाएको छ ।

होटल संघ अध्यक्ष सृजना राणाको अध्यक्षतामा तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनहरु नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका प्रतिनिधिबीच भएको संयूक्त छलफलमा बढेको पारिश्रमिक लागू गर्ने तथा होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिने सहमति भएको हो ।

कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएको थियो ।

संघ र कर्मचारीबीच भएको सम्झौतामा भनिएको छ ‘संचालनमा आएका होटलहरुका लागि २०७६ चैत ११ गतेभन्दा अगाडि श्रमिक तथा कर्मचारीले प्राप्त गरेका तलव, भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलव्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।’

त्यस्तै होटल प्रतिष्ठान र श्रमिकबीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालमार्फत समस्याको समाधान गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौताका बुँदाहरु

-मिति २०७७ असार २८ र मितिः २०७७ माघ १३ गते होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ)हरुको बीचमा गरिएको सामूहिक सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव थियो र सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने । संचालनमा आएका होटलहरुका लागि मिति २०७६ साल चैत्र ११ गते भन्दा अगाडी श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।

-कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने ।

-होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिनेछ ।

– यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिनेछ ।

– बन्दा बन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here