काठमाडौं, ८ वैशाख । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले अनुमति लिएको छ ।
आजदेखि औपचारिक रुपमा संचालनमा आएको उक्त विमानस्थलबाट जजिराले जेठ २ गते (बुद्ध जयन्ति)देखि नियमित उडान गर्ने भएको हो । जजिरा गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स समेत बन्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको छ । जजिराले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो । जजिराले कुवेतबाट भैरहवा उडान गर्ने भएको हो ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न १ दर्जन कम्पनीले चासो देखाए पनि अहिलेसम्म अरु कम्पनीले उडान अनुमति लिएका छैनन् ।