नेपाल एयरलाइन्सले काठमाडौं-नारिता साताको तीन उडान गर्ने

फाइलफोटो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नारितामा उडान संख्या बढाएको छ।

काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।

उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ ।

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रूपमा हाल भाडा दर समेत केही महँगो हुन गएको निगमको भनाइ छ । काठमाडौँ–नारिता सेक्टरमा करसहित बिजनेस क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार ७०० रुपैयाँ भाडा दर कायम गरिएको छ ।

तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरू बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने निगमले चेतावनीसमेत दिएको छ । नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।

काठमाडौं–नारिता सेक्टरमा माग अत्याधिक रहेको तर सिमित सिट संख्यामा उडान गर्नु पर्ने र माग बमोजिमको आपूर्ति हुन नसकेको कारणले यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here