हिमाल चढ्न ८७६ जनाले लिए अनुमति‚ ४४ करोड ८० लाख रोयल्टी संकलन

काठमाडौं, १३ वैशाख । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि ८७६ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार सोमवारसम्ममा अनुमति लिनेमा १०९ टिमका ६८६ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८७६ आरोहीले अनुमति लिँदा ४४ करोड ८० लाख ९४ हजार २४१ रुपैयाँ रोयल्टी संकलन भएको छ हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा हिमालबाट उठेको छ ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३१ वटा टिमका ३०२ जनाले अनुमति लिँदा ३७ करोड ८० लाख ६७ हजार २५० रोयल्टी उठेको हो ।

त्यस्तै सबैभन्दा कम रोयल्टी उर्कमङ हिमाल आरोहणका लागि एउटा टिमले अनुमति लिँदा ६० हजार ६२५ रुपैयाँ रोयल्टी उठेको छ ।

अमेरिकाबाट मात्र १३२ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या सगरमाथासहित अन्य सबै हिमाल चढ्न लिएको अनुमति हो । अमेरिकाबाट २७ महिला र १०५ जना पुरुष आरोही नेपाल आएका छन् ।

विभागक अनुसार दोस्रो स्थानमा बेलायत रहेको छ । बेलायतबाट १०५ जनाले अनुमति लिएको विभागको तथ्यांक रहेको छ । जसमा १४ जना महिला र ९१ पुरुष रहेका छन् । तेस्रो स्थानमा नेपाली नागरिक छन् ।

६३ जना नेपालीले आरोहणमा जाने गरि विभागबाट स्वीकृति लिएको देखिएको छ ।

कुन मुलुकबाट कति ?(टप ५)
अमेरिका : १३२
बेलायत :१०५
नेपाल : ६३
भारत : ५८
फ्रान्स : ५५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here