ठूला उद्योगहरु फेरि लोडसेडिङमा फर्किँदै, रातको समयमा बिजुली नपाउने

फाइलफोटो

काठमाडौं, १४ वैशाख । अन्तर्राष्ट्रिय रुपमा आएको विद्युत् संकटले नेपालको ठूला उद्योगहरुले रातको समयमा विद्युत् नपाउने भएका छन्।

भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा परेको हो ।

अहिले भारतबाट बिजुली आयात हुन नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन थालेको छ ।

उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।

नेपालको उत्पादनबाहेक अहिले ३ सय मेगावाट मात्रै आयात गर्नुपर्ने भए पनि प्राधिकरणले त्यति विद्युत् पनि खरिद गर्न नपाएको जनाएको छ।

समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट द्विपक्षीय सम्झौता, इनर्जी एक्सचेञ्जलगायतबाट बिजुली आयात गरिरहेको छ ।

प्राधिकरणले हाल भारतबाट दैनिक ३०० देखि ३५० मेगावाट बराबर बिजुली आयात गरिरहेको छ । इनर्जी एक्सचेञ्ज बजारमा हरेक १५ मिनेटको एक स्ल्याब तयार गरी ९६ वटा स्लट तय गरिएको छ ।

त्यसमा दैनिक नै सेयर बजारमा जसरी बिजुलीको खरिद र विक्री मूल्य तय हुन्छ । प्राधिकरण सहभागी हुने बोलपत्र प्रक्रियामा औसतमा ७० देखि १०० मेगावाट बराबर मात्रै बिजुली प्राप्त हुने गरेको छ ।

हाल देशभर बिजुलीको माग १ हजार ६०० मेगावाटको हाराहारीमा छ । देशभित्र आन्तरिकरुपमा १ हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध बाँकी रहने ३०० मेगावाट बिजुली जोहो गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

प्राधिकरणका अनुसार रसियाबाट आउने कोइला र ग्यास बन्द भएको छ। त्यसको ठूलो प्रभाव भारतमा परेको छ।

यसले भारतमा विद्युत् उत्पादन धेरै घटेको छ। भारतमा ट्रेडिङ मार्केटमा अर्थात् एक्सचेन्जमा २० हजार मेगावाट हुँदै आएकोमा त्यो ६/७ गुणा कम आउने गरेको प्राधिकरणको भनाइ छ।

भारतको एक्सचेन्ज मार्केटमा अहिले बाई बिडमा १८ हजार मेगावाट आइरहेको छ। त्यो भनेको ४५ करोड युनिटको माग भइरहेको छ। त्यस्तै, ८ करोड युनिट मात्रै सेल बिड आएको प्राधिकरणले जनाएको छ। भारतमा ४५ करोड युनिट माग आएकोमा ८ करोड मात्रै बेच्न सक्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here