गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

काठमाडौं, १८ वैशाख । सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ।

आइतवार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

वैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश दिएको छ ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।

शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here