बाढी पहिरोमा परि ४३ को मृत्यु, २४ जना बेपत्ता

तस्वीर स्रोतः नेपाल प्रहरी

काठमाडौं, २८ असार । अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ ।

बिहीबार रातीदेखि परेको अबिरल वर्षाका कारण मुलुकभर २४ जना बेपत्ता र २० जना घाईते भएका छन् । त्यसैगरी १ हजार १ सय ४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले स्थानीयबासीको सहयोगमा क्षतिको न्यूनीकरण र उद्धार गरिरहेका छन् ।

प्रहरीका अनुसार अविरल वर्षात र सो का कारण सिर्जित बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको हो । मृतकहरु मध्ये १८ जना महिला र २५ जना पुरुष छन् ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १ सय जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बीस घाईते, २४ बेपत्ता

बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

त्यसैगरी, सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि २४ जना बेपत्ता भएका छन् ।

अवरुद्ध सडक खुलाइयो

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका–१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका–स्थित महेन्द्र राजमार्ग सनिबार खुलाइएको छ ।
त्यसैगरी मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका–९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका–२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रौतहट चन्द्रनिगाहापुर–२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका–४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका–९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अवरोध भएकोमा एकतर्फी बाटो खुलाईएको छ ।

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here