बागी फकाउन कांग्रेसको दौडधुप, जगन्नाथको जवाफ- ‘उम्मेदवारी कायमै छ, चुनाव प्रचार गर्न हिँडेँ’

काठमाडौं, २२ वैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले फकाउन कांग्रेसका नेताहरुको दौडधुप जारी छ ।

भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षका नेताहरूबीच छोटो कुराकानी भएको हो।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्।

उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग भेट्न मानेनन्। भरतपुरमा नेता पौडेलले जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतसँग कोठामा बेक्रफाष्ट लिँदै कुरा गरेका थिए।

बागी उम्मेदवारसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।

भेटमा पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको एक सहभागीले बताए। जवाफमा जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका थिए।

‘रामचन्द्रजी! तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मानस्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन। भोलि प्रचण्डलाई सहयोग पनि गरौंला। यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं,’ पौडेललाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै एक सहभागीले भने।

जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताएका थिए। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले पौडेलसँग छलफल गर्ने भनिए पनि उनी चुनाव प्रचारमा जानु छ भन्दै हिँडेका थिए।

सत्तारुढ गठबन्धनले आज दिउँसो भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेको छ। सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here