काठमाडौं, २३ वैशाख । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।
गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन्।
सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।
‘पार्टीले मलाई काठमाडौँको मेयरका लागि अघि सारेको छ। यो हामी महिलाको जित भएको छ। सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ।’
उनले काठमाडौँको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैँ सक्रिय रहने प्रतिवद्धता पनि जनाइन्। सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने पनि बताइन्।
आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ ।
काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ। घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन्। सिर्जनाले महानगरका ३२ वटै वडामा कोशेलीघर स्थापना गर्ने पनि बताइन्।