मतदाता परिचयपत्र हरायो ? नागरिक एपको सहायताले यसरी हाल्नुहोस् भोट

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा देशभरिका मतदाताले मतदान गर्न अब ६ दिन बाँकी छ। वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

ती मध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

नेपालमा संघीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए।

तर मतदाता नामावलीमा नाम भएका तर परिचय पत्र नपाएका मतदाताले भोट हाल्न बन्चित हुन नपर्ने भएको छ।

आयोगले मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि गत फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

त्यसबीचमा निवेदन दिएका मतदाताहरूका साथै नयाँ मतदाताका परिचयपत्र एकसाथ छपाइ भइरहेको छ। त्यसपछि परिचयपत्र हराएका मानिसहरूले चुनावअघि अब नयाँ पाउने सम्भावना छैन ।

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् ।

भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र नागरिक एप डाउनलोड गरि सोहि मतदाता परिचय पत्र नम्बरको प्रयोग गरि नागरिक एप भेरिफाई गर्नुहोस् ।

यसो गर्नाले तपाईं को मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सक्नु हुनेछ । मतदाता परिचय पत्र हराएको वा नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसकेको भए यस प्रक्रियाले सहजै भोट हाल्न सकिनेछ ।

अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदान केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ। आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here