लुम्बिनीमा तयार भयो आकर्षक सभाहल, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले यसै हलबाट सम्बोधन गर्ने

सम्मेलन केन्द्रको डिजाइन

काठमाडौं,२६ वैशाख । लुम्बिनीमा राष्ट्रपति विद्यादेवि भण्डारीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएको छ । चार वर्ष समय लगाएर निर्माण भएको सभाहल आगामी बुद्ध पूर्णिमाका दिन उद्घाटन गरिने भएको हो ।

हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ । ध्यान केन्द्र १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ ।

फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको लुम्बिनी विकास कोषले जनाएको छ । हल ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । सभाहललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ ।

हलभित्र पस्न मुख्य ३ वटा सेन्सर ढोका छन् । ५२ वटा हाते ढोका छन् । हाते ढोका ४ मिटर अग्ला र ढाइ मिटर चौडाइका छन् । ५ हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ ।

असिनापानीको आवाज आउँदैन । हलको भुइँमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ । एक जनाका लागि एक वर्गमिटर स्पेस छुट्याइएको छ । आउजाउ गर्न दुई मिटर चौडा आठवटा बाटो बनाइएको छ । बीच भागमा छुट्टै बाटो पनि छ ।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले सेतो रंग लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रंगको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ बत्ती जडान गरिएका छन् । वाईफाई जोन बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here