बाढी पहिरोमा परेकालाई रेडक्रसको राहत

काठमाडौं, २९ असार । बाढी पहिरोमा परेका २ सय २१ परिवारलाई नेपाल रेडक्रसले राहत वितरण गरेको छ ।

अति प्रभावित परिवारमध्ये २ सय २१ परिवारलाई रेडक्रसले गैरखाद्य सामग्री राहत सेट उपलव्ध गराएको हो । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

यसका साथै २ सय ४५ वटा तारपोलिन छुट्टै वितरण गरिएको छ । नेपाल रेडक्रसले आपत्कालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरु पुर्याईसकेको र द्रुत सर्वेक्षण संगसंगै सामग्री वितरण सुरु गरिसकिएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

तिनदिन देखि परेको पानीको कारण आएको बाढी पहिरोमा परेर ६ हजार ६ सय भन्दा धेरै परिवार प्रभावित भएका छन् ।

यस्तो अवस्थामा सहयोग गर्नको लागि नेपाल रेडक्रसले मनसुन तयारी योजना अनुसार इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको बताएको छ ।

विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत, उद्दार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको रेडक्रसले जानकारी दिएको छ ।

रेडक्रसको प्रारम्भिक विवरण अनुसार रौतहट, उदयपुर, पर्सा, बारा, मोरङ, सिरहा लगायतका १९ जिल्लामा वढी क्षति पुगेको अनुमान गरिएको छ ।

देशभरका ६ हजार ६ सय परिवारमा क्षति पुग्दा ३३ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । त्यो मध्ये एकहजार दुईसय ४६ परिवार विस्थापित हुन पुगेका छन् र करिव २०० घरहरु बस्नै नमिल्ने गरी भत्किएको रेडक्रसले बताएको छ ।

देशका अधिकाँश स्थानमा परेको अविरल बर्षाले सडक अबरुद्ध, डुवान, वाढी र पहिरोका घटनाहरु हुँदैगर्दा स्थानीय निकाय, सरकार, शुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित भएका हुन् । शनिवार ११५ जना दक्ष स्वयंसेवकहरु फिल्डमा खटिएका थिए ।

नेपाल रेडक्रसका विपद् व्यवस्थापन उप निर्देशक हरिमोहन श्रेष्ठले भने ‘पहिलो चरणमा मानिसहरुको ज्यान जोगाऊने, उद्यारको काममा नै स्थानीय स्तरमा रेडक्रसकर्मीहरु लागिरहेका छन् । खासगरी प्रदेश नं एक, दुई र तीनमा वढी जनधनको क्षति भएको देखिएको छ ।’

यस्तै तीनथानाको पहिरो रोकथामको लागि २०० र कुलेश्वरको वाढी रोकथामको २०० वटा बोरा नेपाल रेडक्रसले शसस्त्र प्रहरीलाई उपलव्ध गराएको र ती वोराहरुमा बालुवा भरी अस्थायी छेकवार गर्ने काम भइरहेको रेडक्रसले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here