श्रीलंका तनावग्रस्त: निवर्तमान प्रधानमन्त्री राजपाक्षेसहित ५० नेताको घर जलाइयो, निशानामा राष्ट्रपति

काठमाडौं । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलंका जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिएको छ।

इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाय राजपाक्षको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ।

श्रीलंकाली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन तनाव सिर्जना भएको हो ।

प्रदर्शनकारीहरुले श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ ।

सोमबार र मंगलबारको समय अवधिबीचमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो । घर आगजनीबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले तत्काल सुरक्षा दिएर राजपाक्षेको परिवारका सदस्यलाई घरबाट निकालेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले बताइएको छ ।

उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हावाइ फायरसमेत गर्नु परेको थियो । उता सरकारले भने कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लङ्गन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

त्यस्तै सोमबार नै ५० भन्दा बढी नेताहरुको घर जलाइएपछि ती नेताहरु शरण लिएर बसिरहेको बताइएको छ । यता राजपाक्षेको परिवारहरुलाई भने सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा राखेको बीबीसीले जनाएको छ ।

प्रदर्शनका क्रममा हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने २०० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here