काठमाडाैं, २९ असार । नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति प्रभावकारी विकास सहयोग परिचालनमा आफ्नो नवीकृत प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रभावकारी विकास सहयोगका लागि विश्वव्यापी साझेदारी (जिपिइडिसी)को उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा बङ्गलादेशसँगको साझेदारीमा नेपालले हालै अमेरिकी महानगर न्यूयोर्कमा आयोजना गरेको छलफलमा नेपालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
प्रभावकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले उक्त बैठकमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।
अर्थ मन्त्रालयका अनुसार आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता र उच्च सरकारी अधिकारीसँग त्यस्तो छलफल गरेको हो ।
दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घको राजनीतिक मञ्च जिपिइडिसीमा एशिया–प्रशान्त क्षेत्रका विकासका समस्या तथा तिनको समाधानका निम्ति सम्बन्धित देशले गरेका प्रयत्न, तथ्य र प्रमाणमा आधारित विषयका साथै सुझाव प्रस्तुत भएको उक्त मन्त्रालयले बताएको छ ।
अर्थ सचिव राजन खनालले दिगो विकासका लक्ष्य हासिल गर्न स्रोत र साधनको अधिकतम एवम् विवेकपूर्ण उपयोगमा जोड दिएका थिए । उनले विकास सहायताको प्रभावकारिता र गुणस्तरको अनुगमन पनि उत्तिकै आवश्यक भएको विचार बैठकमा व्यक्त गरेका थिए ।
राष्ट्र विकासको यज्ञमा आन्तरिक, बाह्य, निजी तथा सार्वजनिक वित्तको प्रभावकारी परिचालन र प्रभावकारी विकास सहायताको सुनिश्चितताका लागि नेपालले अभिमत प्रकट गरेको मन्त्रालयले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।
बैठकमा बङ्गलादेशका अतिरिक्त म्यान्मा, फिलिपिन्स, कम्बोडिया, इण्डोनेसिया, जापान तथा एशिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अधिकारीका साथै विकासका साझेदार, दातृ निकाय, सांसद, नागरिक समाज र निजी क्षेत्रसमेतको उपस्थिति थियो । (रासस)




















