भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा ६ घण्टा बिताएर फर्किने, के- के छन् कार्यक्रम ?

फाइलफोटो

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार लुम्बिनी भ्रमणमा आउँदै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।

भगवान् गौतम बुद्धको जन्मजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा हुो विशेष समारोहको लागि प्रधानमन्त्री देउवाले निमन्त्रणा गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमवार बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।

कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

ती सबै काम सकेर मोदी पवन इन्टरनेसनल होटल आराम गर्ने जनाइएको छ । सोही होटलमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तथा प्रधानमन्त्री देउवाले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने छन् । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नेछन् ।

दुवै प्रधानमन्त्रीको भेटवार्ता लगत्तै दुई देशीय द्विपक्षीय उच्चस्तरीय कूटनीतिक अधिकारीहरुको बैठक पनि सोही होटलमा सुरु हुने जनाइएको छ । सो क्रममा विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर समेत गरिने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीको होटल पवन प्यालेसमा द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछी दुई प्रधानमन्त्रीको उपस्थितीमा लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्डिया चेयर स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछन्।

प्रधानमन्त्री देउवाले मोदीलाई दिवाभोज दिनेछन्। लुम्बिनी भ्रमण सकेर प्रधानमन्त्री मोदी अपरान्ह ५ : ३० बजे नयाँदिल्ली फर्किनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here