जनतालाई खर्पनमा बोकेर हिंड्न तयार छु : प्रम ओली

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनतालाई खर्पनमा बोकेर हिंडन तयार रहेको बताएका छन् । देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिंड्न तयार छु, राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमूना युवा संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने ।

आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको उनले बताएका हुन् ।

‘उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो । अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसँग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ,’ प्रधानमन्त्री ओलीले राजधानीमा आइतबार आयोजित नमूना युवा संसदको बैठकमा भने ।

उनका अनुसार नेपालको विकासका लागि अहिले उपयुक्त समय हो । नमूना युवा संसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताए ।

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्य भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताएका छन् । ‘हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ । जनसांख्यिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं,’ उनले भने ।

विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको पनि ओलीले उल्लेख गरे । ‘विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन । अहिले आफ्नो लागी भन्दा देशको स्वार्थलाई माथी राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here