काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाललाई मान्छे बेच्ने, मालसामान भित्र्याउने देश भनेका छन्।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै उनले नेपालीको भान्छामा पाक्ने सबैजसो तरकारी समेत आयात गरिएको पाक्ने गरेको बताएका हुन् ।
‘हामी मानवीय श्रम विदेश पठाउँछौँ अनि हाम्रो भान्सामा सबै कुरा विदेशबाट ल्याएर चलाउँछौं,’ उनले भने ।
उनले अर्बौँका सामान विदेशबाट ल्याएर कृषिप्रधान देशको गफ दिइरहेको बताउँदै नेपालले आत्मनिर्भर हुने विकल्पमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नेपालले आत्मनिर्भर हुन उद्योगमा नेपाली फुटवेयर, कपडा उद्योग, जडिबुटीलगायतको उत्पादनमा जोड दिनुपर्ने उनले बताए । जसका लागि १० वर्षे योजना बनाएर काम गर्नुपर्ने उनले बताए ।
तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए ।






















