काठमाडौं, ६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् ।
शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरूसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताए ।
उनले कोभिडको समयमा गुमेको सिकाई क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बताए । उनले समयवद्ध रूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाए ।
‘शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौं,’ मन्त्री पौडेलले भने, ‘यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गुर्नपर्यो ।’
प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्य आर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रुपमा कार्यान्वयनमा ल्याएको बताए ।
मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताए ।
विद्यार्थीको सिकाई उपलब्धी बढाउने विषय र शिक्षक र अभिभाव बीचमा निरन्तर संवाद गर्ने विषयहरु समेत सुधारको प्राथमिकताका क्षेत्रहरु रहेको बताउँदै शिक्षकको पेशागत सहयोग र जवाफदेहीता कार्यलाई प्राथमिकतामा राखेको बताए ।
बैठकमा विकास साझेदारीका प्रतिनिधिहरुले भुकम्पपछि विद्यालय पुनः निर्माण, शिक्षा र शिक्षण सिकाई प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।